काठमाण्डौं । गोरखामा बहुबिवाह गरेको आरोपमा शुक्रवार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहीद लखन गाउँपालिका–३ बनौती माझगाँउका ४६ बर्षका कृष्णप्रसाद लामिछाने र ३८ बर्षीया सुस्मिता लुईटेल रहेको प्रहरीले जनाएको छ ।
लामिछानेले लुईटेललाई दोस्रो श्रीमतीको रुपमा विवाह गरी ल्याएको भन्ने थाहा भएपछि सोही स्थानका बिष्णु लामिछानेले उनीहरु बिरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । यही फागुन १ गते उजुरी परेका दुवै जना बिरुद्ध बहुविवाह कसूर शीर्षकमा मुद्दा दर्ता गरेर जिल्ला अदालतको अनुमतिमा पक्राउ पुर्जी जारी गरेर खोजतलास शुरु गरेको डिएसपी रमेशकुमार श्रेष्ठले बताए । खोजतलासको क्रममा उनीहरुलाई शुक्रवार पक्राउ गरिएको डिएसपि श्रेष्ठले बताए । उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।