काठमाडौं, असोज २२ । एमालेले टिकट नदिएपछि नेता भीम रावल र घनश्याम भुसाललाई सत्ता गठबन्धनले गठबन्धनको तर्फबाट निर्वाचन लड्न आग्रह गरेका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरुले रावल र भुसाल दुवैलाई आफ्नो कित्ताबाट निर्वाचन लड्न आग्रह गरेका हुन् ।
रावल र भुसाल दुवै अहिले आआफ्ना जिल्लामा छन् । भुसालले शनिबारै एमाले परित्याग गरेको घोषणा गरिसकेका छन् । भुसालले पार्टी छोडेको घोषणा गरिसकेको अवस्थामा रावलले पनि एमाले छोड्ने तयारी गरेको रावल निकट स्रोतले दावी गरेको छ । रावल र भुसाल दुवै गत मंसिरमा सम्पन्न एमाले महाधिवेशनमा ओलीको चाहना विपरित अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार बनेर पराजित भएका थिए ।
यसैबीच रावल र भुसालबारे कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको छ ।
शनिबार दिउँसो तीन नेताबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । चुनाव लड्ने हुँदा तत्काल रावल र भुसाल दुवैको विकल्प स्वतन्त्र चुनाव लड्ने कि कुनै दल वा गठबन्धनबाट लड्ने भन्ने दुई विकल्प छन् ।